काठमाडौं ।
राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचनका बेला पाउने नगद सहयोग तथा चन्दा पनि अबबाट बैंक खातामा राखेर मात्रै कारोबार गर्नुपर्ने भएको छ ।
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूका लागि निर्वाचन अभियान बैंक खाता कार्यविधि, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो । मंगलबार मात्रै निर्वाचन आयोगले त्यस्तो कार्यविधि पारित गरेको छ ।
जुन व्यवस्था अनुसार, राजनीतिक दल वा उम्मेदवारले नगद वा चेक जुनसुकै माध्यमबाट रकम प्राप्त गरेपछि खातामा जम्मा गरेर मात्रै रकम खर्च गर्नुपर्नेछ ।
कार्यविधिको दफा ६९२०मा २५ हजार वा त्यो भन्दा बढी आर्थिक सहयोग पाउने उम्मेदवारहरूले सोझै बैंक खातामा रकम प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
नयाँ कार्यविधिमा त्यो भन्दा कम रकम पनि खातामा राख्नुपर्ने व्यवस्था भएको हो । कार्यविधिमा भनिएको छ, ‘२५ हजार वा सो भन्दा कम रकमका लागि नगदी रसिद वा भरपाई दिई बैंक खातामा जम्मा गर्नुपर्नेछ ।’
निर्वाचन आयोगले सरकार वा सरकारी बजेट परिचालन हुने ठाँउमा आर्थिक सहयोग लिन नपाइने व्यवस्था गरेको छ । पब्लिक कम्पनीहरूबाट पनि आर्थिक सहयोग लिन पाइने छैन । अनि विदेशी सरकार, संस्था वा व्यक्तिबाट पनि सहयोग लिन नपाइने व्यवस्था छ ।
एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गर्ने व्यक्ति वा संस्थाको विस्तृत विवरण नै उम्मेदवारहरूले अभिलेख बनाएर राख्नुपर्ने व्यवस्था छ । र, उनीहरूले पेश गरेका अभिलेखहरू कानूनले बमोजिमको अवस्थामा बाहेक गोप्य हुने भनी आयोगले व्यवस्था गरेको छ ।
आयोगले यसअघि राजनीतिक दल वा उम्मेदवारहरूले खोलेको खातालाई समेत नयाँ प्रक्रियाबाट नियमन गर्न खोजेको छ । उनीहरूले नयाँ खाता नै खोल्नुपर्नेछ । अनि पहिले खोलिएको खाताको रकम नयाँमा सार्नुपर्नेछ ।
निर्वाचन सकिएको ३५ दिनपछि त्यस्ता खाता बन्द हुनुपर्ने व्यवस्था छ, बैंकहरूले खाताको विवरण भने छ वर्षसम्म सुरक्षित राख्नुपर्नेछ । रद्द हुने उम्मेदवारहरूको बैंक खाता निर्वाचन आयोगले तत्काल बन्द गराउने व्यवस्था छ ।
निर्वाचन आयोगले काठमाडौंका पाँचवटा कोष तथा लेखा नियन्त्रण कार्यालयलाई १० वटा निर्वाचन क्षेत्र हेर्नेगरी जिम्मेवारी बाँडफाँट पनि गरेको छ ।















