पोखरा ।
लायन्स क्लव अफ पोखरा फेवा फुलबारीले पोखराका दुई वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गतिविधीमा सहयोग पुर्याउने उद्धेश्यले पोखराको आटीघरस्थित सीता आधारभुत विद्यालय र ज्ञानोदय रघु आधारभूत विद्यालयका करिव ३० जना विद्यार्थीलाई विद्यालय झोलासहित शैक्षिक सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष लायन गोविन्द अधिकारीले जानकारी दिए । सो सामाग्री शिक्षासेवी अञ्जु कँडेल, क्लवका पूर्व अध्यक्ष लायन माधव प्रसाद कँडेल,लायन राम पौडेललगायतले वितरण गरे ।

कार्यक्रममा शिक्षासेवी कँडेलले शिक्षा, स्वास्थ्य जस्ता मानवीय सेवाका क्षेत्रमा लायन्स क्लवले खेलेको भुमिका अनुकरणीय रहेको बताईन् । क्लवका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सीता आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश सुवेदी,ज्ञानोदय रघु आधारभूत विद्यालयका प्रधानाध्यापक सागर केसी, शिक्षक शारदा अधिकारीले सहयोगले विद्यार्थीको मनोवललाई उच्च बनाएको बताए ।
सोही अवसरमा विपन्न अवस्थाकी मानसिक रोगबाटग्रस्त एक महिलाको परिवारलाई आर्थिक सहयोग समेत प्रदान गरिएको क्लवले जनाएको छ । कार्यक्रममा पुर्व अध्यक्ष माधव कँडेलले आफ्नो जन्मदिनको अवसरमा क्लवको सामाजिक कार्यका लागि नगद १० हजार सहयोग प्रदान गरे ।
कोषाध्यक्ष दिनेश आचार्यले संचालन गरेको कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।















