मुस्ताङका कुनै उम्मेदवारविरुद्ध परेन उजुरी

केन्द्रभाग मिडिया

मुस्ताङ ।

मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मंगलबार उम्मेदवारी मनोनयनपत्र दर्ता गराएकामध्ये कुसैको पनि उजुरी परेको छैन ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मङ्गलबार देशैभर उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएको थियो । बुधबार बिहान १० : ०० बजेदेखि दिउँसो ३ : ०० बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिने समय तालिका तोकिएकामा उक्त अवधिभर कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिए ।

उनका अनुसार निर्वाचनका लागि मुस्ताङमा आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, मङ्गोल नेसनल अर्गानाइजेसन र आम जनता पाटी (आजपा)ले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मुस्ताङका पाँच स्थानीय तहमा गरी ३९ वटा मतदान केन्द्र तोकिएको छ । यहाँ मतदाता नामावली अद्यावधिक हुँदा ११ हजार ३२८ जना मतदाता कायम भएका छन् । रासस

  • ८ माघ २०८२, बिहीबार १६:२७ प्रकाशित