बैतडी ।
बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जय पृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटनामा परेको हो ।
जिप आफैँ अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन् । घटनास्थलमै मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको छ ।
जिपमा सवार अन्य सबै घाइते भएका र घाइतेहरूको सङ्ख्या यकिन हुन बाँकी रहेको प्रहरी निरीक्षक सिंहले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।














