काठमाडौं ।
इन्टरपोलको सहयोगमा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीका अधिकृतहरू फिलिपिन्स जाने भएका छन् । अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्की दिएपछि डिफ्युजन नोटिस जारी गरेर पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले पक्राउ गरेको थियो ।
काभ्रे घर भएका पाठकले राईसहित १० जनालाई धम्की दिएका हुन् । पाठक भारत, इन्डोनेशिया हुँदै फिलिपिन्स पुगेको थाहा भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आएका थिए ।
उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना इन्स्पेक्टर जाने निर्णय भएको छ । इन्टरपोलको फिलिपिन्स शाखा र फिलिपिन्स अध्यागमनले आफ्नो कार्यविधिगत काम पुरा गरेपछि खबर गर्ने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले बताएका छन् ।
पाठकले सामाजिक सञ्जालमा भिडियो गर्दै पोस्ट लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।
मङ्सिर १७ मा उपत्यका प्रहरी कार्यालयले धम्की दिइएका व्यक्तिहरूको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरेको थियो । प्रकाश पाठकसँग ‘कनेक्सन’मा देखिएका ३ जनालाई प्रहरीले यसअघि पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धादिङ घर भएका शरणजंग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धीरेन्द्र सुनार छन् ।















