पोखरामा पुस १९ गते झ्व भ्वय हुने, निसा देसारले नचाउने

केन्द्रभाग मिडिया

रमेश पौडेल,

पोखरा ।

पोखरामा यहि पुस १९ गते झ्व भ्वय हुने भएको छ । नेवाः मिसा पुचः कास्कीको आयोजनामा नेवारी सांस्कृतिक उत्सव झ्व भ्वयको चौथो संस्करण शनिबार हुने भएको विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

नेवाःमिसा पुचःले संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्दनका लागि हरेक ३-३ वर्षमा यो कार्यक्रम गर्दै आएको छ । २०७२ सालदेखि शुरु भएको यो भोज २-२ वर्षमा गर्ने भनिए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड–१९ का कारण बिचमा रोकिएको थियो । तर तीन वर्षअघि तेस्रो संस्करण भएपछि पुनः ३-३ वर्षमा हुन थालेको छ ।

नेवारी संस्कृति, परम्परा र खानपानको संरक्षण तथा प्रवद्र्दन गर्न चौथो संस्करणको झ्व भ्वय गर्न लागेको नेवाःमिसा पुचःकास्कीकी अध्यक्ष संगीता बज्राचार्यले जानकारी दिईन् । परम्परादेखि चलिआएको प्रचलनलाई युवा पुस्तामाझ परिचित गराउँदै नेवारी फुड कल्चरमा अभ्यस्त गराउन पनि कार्यक्रम गरिएको उनको भनाई छ ।

भीमसेनटोलस्थित नेवा छेँमा आयोजना शनिबार आयोजना हुने भोज १ हजार ५ सयले खाने अध्यक्ष बज्राचार्यले बताईन् । भोजमा नेवार तथा गैरनेवार सबै सहभागी हुन पाउने उनले बताईन् । ‘साना साना बालबालिकादेखि बृद्दबृद्दासम्मपनि सहभागी हुन्छन्’–उनले भनिन् ।

सहभागीलाई शुरुमा नेवारी संस्कार, संस्कृति अनुसार लहरै राखेर वासा सगुन र औषधीका रुपमा दिएर स्वागत गरिने जानकारी दिईन् । त्यसपछि सुख्खा खानाका परिकारहरु, ग्रेभीयुक्त परिकार, झोलिलो परिकारहुँदै अन्त्यमा डेजर्टका रुपमा चुसीफुसी खुवाएर बिदाई गरिने उनले बताईन् । वासा हाम्रो सगुन पनि हो,उनले भनिन्,‘यो औषधी पनि हो । त्यसले स्वागत गर्छौं ।’

जाडो महिना पुसमा एकपटक भोज अनिवार्य भएकाले पनि झ्व भ्वयको अत्यन्त महत्व रहेको उनले बताईन् । त्यस्तै, संस्कार, संस्कृति जोगाउन मात्र नभई पर्यटन प्रर्वद्धनमा पनि यसले सहयोग गर्ने उनले बताईन् ।

झ्व भ्वयको अवसरमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम पनि हुने कार्यक्रम संयोजक तथा नेवा मिसा पुचःकी उपाध्यक्ष शान्ती प्रधानाङ्गले जानकारी दिईन् । उनका अनुसार भोज चलिरहँदा सांस्कृतिक कार्यक्रम हुनेछ । जहाँ नेवारी गीतहरु गाएर चर्चामा रहेकी निसा देशारलगायतका कलाकारहरुले प्रस्तुती दिनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाःमिसा पुचको आयोजनामा हुने झ्व भ्वय कार्यक्रमले नेवारी भाषा, संस्कार, संस्कृति संरक्षणमा टेवा पुग्ने बताए । नया पुस्ताका लागि झ्व भ्वय सिक्ने थलो बन्ने पनि उनले बताए ।

भोजको मुख्य प्रायोजन फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टर गैह्रापाटन र विशेष सहयोगीमा पोखरा महानगरपालिका वडा नम्बर–९ को कार्यालय रहेको महासचिव किरण बिजुक्षेले जानकारी दिईन् ।

  • १७ पुष २०८२, बिहीबार १५:३० प्रकाशित