रक्सी पसलमा अन्धाधुन्ध गोली चल्दा ९ जनाका ज्यान गुम्यो

केन्द्रभाग मिडिया

दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलमा अन्धाधुन्द गोली चल्दा ९ जनाको ज्यान गुमेको छ । रक्सी पसल भित्रै छिरेर एक समूहले गोली चलाउँदा उनीहरुको ज्यान गुमेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

आइतबार मध्यराति १ बजे एउटा गाडीमा आएका बन्दुकधारीहरूले मदिरा पिउँदै बसेका व्यक्तिहरूमाथि गोली चलाएका थिए ।

घटनामा १० जना घाइते भएका छन् । गोली चलेपछि भागेका केही मानिसहरूलाई लखेटी लखेटी बन्दुकधारीहरूले गोली हानेका थिए ।

घाइतेहरूलाई विभिन्न स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ। गोलीकाण्डको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

रोयटर्सका अनुसार बेकर्सडाल रहेको र्‍याण्ड वेस्ट सिटी बेरोजगारी र गरिबीले प्रभावित मानिन्छ । सो क्षेत्र सुन खानी उद्योग पतन भएपछि आर्थिक संकटले ग्रस्त बनेको स्थानीय सरकारको वेबसाइटमा उल्लेख छ ।

अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने दक्षिण अफ्रिकामा दैनिक झण्डै ६० जनासम्म हत्या हुने आँकडा छ । यसले देशमा बढ्दो अपराधको स्थिति झल्काएको भनेर पनि रोयटर्सले लेखेको छ ।

  • ७ पुष २०८२, सोमबार ०९:२२ प्रकाशित