यूएई जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय शुल्क

केन्द्रभाग मिडिया

काठमाडौं ।

वैदेशिक रोजगारीका लागि यूएई जाने श्रमिकहरूलाई प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय रूपैयाँ भन्दा बढी शुल्क लिन थालिएको छ । यूएईले भिसा लिनका आवश्यक पर्ने नेपालको ‘प्रहरी प्रतिवेदन प्रमाणीकरण’मा ३ सय ५३ दिराम (१३ हजार ९९५ रूपैयाँ)लिने गरेको हो ।

जेनजी आन्दोलनपछि भिसामा कडाइ गरेको यूएईले पछि भिसा सहज बनाउँदै प्रहरी रिपोर्टको प्रमाणीकरण अनिवार्य गरेको थियो । त्यसका लागि ठमेलस्थित छायाँ सेन्टरमा भीएफएसमा ३५३ दिराम बुझाउनुपर्ने हुन्छ ।

नेपाली श्रमिकले प्रहरी प्रतिवेदन प्रमाणीकरणका नाममा उक्त शुल्क तिर्नुपरेको हो । जेनजी आन्दोलनअघि यूएई जान प्रहरी प्रतिवेदन अनिवार्य थिएन । जेनजी आन्दोलनपछि यूएईले भिसामा कडाई गरेपछि प्रमाणीकरण अनिवार्य गर्दै उक्त शुल्क तोकेको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङले श्रमिकलाई थप आर्थिक भार पर्नेगरी प्रहरी रिपोर्ट प्रमाणीकरणको नाममा बढी शुल्क लिने गरेको गरेको बताए ।

संघले प्रहरी प्रतिवेदन प्रमाणीकरणका लागि तोकिएको शुल्क हटाउन माग गरेको छ । संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराएको थियो । संघको ध्यानाकर्षणपछि श्रम मन्त्रालयले कुटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले संघबाट जानकारी आएलगत्तै परराष्ट्रलाई पत्राचार गरिएको बताए ।
‘संघबाट प्रहरी रिपोर्ट प्रमाणीकरणको शुल्क लिने गरेको विषयमा जानकारी आयो । लगत्तै हामीले परराष्ट्रलाई पत्राचार गरेका छौं । त्यसपछि अहिलेसम्म केही जवाफ आएको छैन्,’ प्रवक्ता घिमिरेले भने ।

संघले शुल्क हटाउन सम्बन्धित पक्षसँग संवाद र पहल गर्न प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठको नेतृत्वमा कार्यदल समेत गठन गरेको छ । संघले नेपालस्थित यूएई दूतावासका अधिकारीहरूसँग छलफल गर्ने जनाएको छ ।

  • २ पुष २०८२, बुधबार १६:०२ प्रकाशित