चितवन ।
चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये ६ जनाको ज्यान गएको छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये ६ जनाको ज्यान गएको हो ।
जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन् । उनीहरुमध्ये एक जना ८९, एक जना ८१, दुई जना ७०, एक जना ४२, एक जना ३९ वर्षका रहेका छन् ।
सङ्क्रमितमध्ये १० जना महिला हुन भने सात जना पुरुष रहेका छन् । उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र ९ जना ६० वर्षमाथिका रहेका छन् । सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाए– नलगाएको बारे स्पष्ट नरहेको उनले जानकारी दिए । सङ्क्रमितमध्ये सात जना भरतपुर महानगरपालिकाभित्रका रहेका छन् ।
यस्तै खैरहनी नगरपालिकाका चार जना, माडी नगरपालिकाका एक जना, रत्ननगर नगरपालिकाका एक जना, राप्ती नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जना रहेका छन् । रासस















