पैदल यात्रुको सुरक्षार्थ हेमजामा कास्की प्रहरीको ‘एसएलसी’ अभियान

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको भाइरल सडक भनेर चिनिने पोखरा बागलुङ राजमार्ग अन्तर्गत हेमजा सडक खण्डमा पैदल यात्रुका कारण सवारी दुर्घटना बढेपछि त्यसलाई न्युनिकरण गर्न कास्की प्रहरीले ‘स्टप, लुक एण्ड क्रस’ (एसएलसी) अभियान सञ्चालन गरेको छ । मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यो अभियानको शुभारम्भ गरेकी हुन् ।

अभियान शुभारम्भ गर्दै सीडीओ शर्माले ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्युनिकरणका लागि नियमित कार्यक्रम चलिरहेको भएपनि यो अभियान समुदायसंग नै मिलेर पैदलयात्रुको सुरक्षाका लागि गरिएको विशेष अभियान भएको बताइन् । पछिल्ला तीन वर्षमा कास्कीमा सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको तथ्यांक विश्लेषण गर्दै उनले ज्यान गुमाउने मध्ये धेरै पैदल यात्रु नै रहेको जानकारी दिइन् । त्यस मध्य पनि हेमजा सडक खण्डमा धेरै नै जोखिममा रहेको उहाँले सुनाउनु भयो ।

उनका अनुसार कास्कीमा आर्थिक वर्ष २०८०/०८१ मा सवारी दुर्घटनामा परेर ३८ जनाले ज्यान गुमाएका छन् । जसमा १५ जना पैदल यात्रुले ज्यान गुमाएका हुन् । हेमजा सडकमा मात्रै १० जना पैदल यात्रुले सो आर्थिक वर्षमा ज्यान गुमाएका हुन् । आर्थिक वर्षमा २०८१/०८२ सवारी दुर्घटनामा परेर ४३ जनाले ज्यान गुमाएका थिए । त्यस मध्ये १४ जना पैदल यात्रुले सवारी दुर्घटनामा ज्यान गुमाएका र हेमजामा मात्र ४ जना पैदल यात्रुले ज्यान गुमाएका हुन् । चालु आर्थिक वर्ष २०८२/८३ को यो अबधिसम्म १४ जनाको ज्यान गुमेकोमा ८ जना पैदल यात्रु रहेका छन् । जस मध्ये हेमजामा मात्र ४ जनाले ज्यान गुमाएका छन् ।

पैदलयात्रीको सुरक्षार्थसञ्चालित यो अभियान सबैको घरघरमा पुग्नुपर्ने उनले धारणा राखिन् । उनले समुदायसंग मिलेर नै यो अभियान सफल पारिने बताइन् । सबै यात्रु, पैदलयात्रु र चालक सचेत भए सवारी दुर्घटना न्युनिकरण हुने उनको भनाई छ ।

विशेष अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक नवीन कार्कीले तीन वर्षको विश्लेषण गर्दा पैदलयात्रु जोखिममा रहेको र त्यसमा पनि ज्यान गुमाउने पैदल यात्रु मध्ये बागलुङ वसपार्क देखि हेमजा हुँदै फेदीसम्म धेरै रहेको जानकारी दिए ।

सामुदायिक सेवा केन्द्र हेमजाका अध्यक्ष देवी प्रसाद अधिकारीले समुदायका मानिसहरु विना बर्दीका प्रहरी भएको भन्दै प्रहरीको यो अभियानलाई सबैले सहयोग गर्नुपर्र्ने धारणा राखे ।

अभियान अन्तर्गत पहिलो दिन पैदल यात्रुलाई जेव्रा क्रसबाट कसरी बाटो काट्ने भनेर अभ्यास गराइनुका साथै विभिन्न जनचेतनामुलक कार्यहरु गरिएको छ । कास्की प्रहरीले सवारी दुर्घटना हुन नदिन र शान्ति अमनचयन कायम राख्न ‘मिसन ३६५’ समेत सञ्चालन गरिरहेको छ ।

  • २३ मंसिर २०८२, मंगलवार २१:५६ प्रकाशित