काठमाडौं ।
जापानमा गएराति शक्तिशाली भूकम्प गएको छ । उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । स्थानीय समयअनुसार सोमबार राति २३:१५ मा भूकम्प गएको गएको र केन्द्रबिन्दु आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा, ५० किलोमिटर (३१ माइल) गहिराइमा थियो । भूकम्पका कारण अहिलेसम्म कम्तीमा ३० जना घाइते भएका छन् । हजारौँ मानिस घर छाड्न बाध्य छन् ।
भूकम्पपछि देशमा सुनामी चेतावनी जारी गरिएको थियो, तर अहिले हटाइएको छ । यद्यपि तटमा ७० सेन्टिमिटर (२७ इन्च) सम्मका अग्ला छाल उठेका थिए । केही रेल सेवा रोकिएका थिए र हजारौँ घरमा बिजुली विच्छेद भएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । त्यसैले मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन सल्लाह दिइएको छ ।
जापानका प्रधानमन्त्री साने ताकाइचीले भनेकी छन्, ‘आफ्नो भूकम्प तयारीको पुन: जाँच गर्नुहोस् र भूकम्पको झट्का महसुस हुनासाथ तुरुन्त निस्किन तयार रहनुहोस् ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार लगभग ९० हजार मानिसलाई घर छाड्न आदेश दिइएको छ ।














