नेपाल एयरलाइन्सका चालक दलका सदस्य सुन तस्करी आरोपमा दोहा एयरपोर्टमा पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आइपुग्ने तालिका थियो।

दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ । यसका कारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले भने यो विषयमा आधिकारिक रूपमा आफूलाई जानकारी नभएको बताइन् ।

  • १५ मंसिर २०८२, सोमबार १३:०९ प्रकाशित