नेकपा र जसपाको श्रेष्ठ समूहबिच आज एकता

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जसपाको राजेन्द्र कुमार श्रेष्ठ समूहबिच बिहीबार एकता घोषणा भएको छ ।राजधानीको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबिच एकता घोषणा गरिएको हो । सो अवसरमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

१० बुँदे सहमतिमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने र संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने विषय उल्लेख छ ।

यसैगरी विगतका सबल र दुर्वल पक्षहरूको समीक्षा गर्दै अब बन्ने एकीकृत पार्टीले ’नेपाली विशेषताको समाजवाद’ लाई आफ्नो मूल कार्यक्रमको रूपमा अङ्गीकार गर्ने निर्णय गरिएको छ। पहिचान र अधिकारसहितको सङ्घीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य पूरा गर्न सडक, सदन र सरकार तीन वटै मोर्चाबाट सङ्घर्ष गर्ने प्रतिबद्धता नेताहरूले जनाएका छन्।

साङ्गठनिक व्यवस्थापनको हकमा पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वका आधारमा सञ्चालन गरिनेछ। जनवादी केन्द्रीयताको पद्धति अपनाउँदै जनता समाजवादी पार्टीका केन्द्रीय विज्ञ परिषद् तथा राष्ट्रिय समितिहरू लगायतका संरचनालाई यथावत् राखी सहमतिका आधारमा समायोजन गरिनेछ। दुवै पार्टीका नेता तथा कार्यकर्ताहरूको जिम्मेवारी बाँडफाँट आपसी सहमतिमा टुङ्गो लगाइने र पार्टीका दस्ताबेजहरूमा रहनसक्ने मतभेदका विषयलाई एकता महाधिवेशनमार्फत हल गरिने सहमति भएको छ।

सहमति–पत्रमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तथा जसपा एकीकरण पक्षधरका तर्फबाट राजेन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्।

  • ११ मंसिर २०८२, बिहीबार १५:१४ प्रकाशित