पोखरा ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटपाट, आगजनी र तोडफोड गर्ने कार्यमा संलग्नलाई कास्की प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको हो ।
हालसम्म ५६ जना पक्राउ परिसकेका र धेरैलाई उपद्रव कसुरमा अनुसन्धान गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । ‘हामीले खोजीखोजी पक्राउ गरिरहेका छौँ । अनुसन्धानका क्रममा दोषी देखिए कारबाही हुन्छ, नभए रिहा हुन्छन्,’ उनले भने, ‘शंकास्पद नभएका व्यक्तिहरू पक्राउ परेका छैनन् । कुनै न कुनै गतिविधिमा संलग्न भएको पुष्टि भएपछि फोटो वा भिडियोको प्रमाणका आधारमा मात्रै पक्राउ परेका छन् ।’
उनका अनुसार केहीलाई धरौटीमा रिहा गरिएपनि अधिकांशमाथि अनुसन्धान अघि बढेको छ । पक्राउ परेकामध्ये ३६ जनामाथि अनुसन्धान अघि बढेको उनले जानकारी दिए । अदालतको आदेशले केही व्यक्तिहरू पुर्पक्षका लागि थुनामा पठाइएको छ । एकजनालाई बाल सुधार गृह पठाइएको छ । जेनजी आन्दोलनको पहिलो दिन २३ गते शान्तिपूर्ण भएपनि दोस्रो दिन अर्थात् २४ गते ध्वंसात्मक घटना भएको थियो । उक्त घटनाको भिडियो र फोटोहरु सामाजिक सञ्जालमा पोष्ट भएका छन् । प्रहरीले पनि आरोप पुष्टि हुने प्रमाणहरू प्रहरीलाई बुझाउन पटक पटक आग्रह गरेको छ ।
पक्राउ परेका ५६ जना मध्ये १४ जनालाई भने धरौटीमा रिहा गरिएको छ । प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन र आन्दोलन गरेकै आधारमा भने पक्राउ नगरेको प्रष्ट्याएको छ ।
आइतबार कास्की जिल्ला अदालतले आपराधिक उपद्रव मुद्दामा केही प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने केहीलाई पुर्पक्षका लागि थुना वा बालसुधार गृहमा पठाउने आदेश दिएको छ ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले एकजना नावालकलाई बालसुधार गृहमा पठाउने आदेश दिएको हो । उनले बगर प्रहरी चौकीबाट हतियार लुटपाट गरेको आरोप छ ।















