अजरबैजान ।
टर्कीको सैन्य कार्गो विमान दुर्घटनामा भएको छ ।
अजरबैजानमा एक मिसन सकेर फर्किरहेको टर्कीको एक सैन्य कार्गो विमान मंगलबार जर्जिया र अजरबैजानको सीमा नजिकै दुर्घटनाग्रस्त भएको हो। टर्कीको रक्षा मन्त्रालयले विमानमा सवार सबै २० जना कर्मचारीको ज्यान गएको पुष्टि गरेको छ।
टर्कीका अधिकारीहरूले उद्धार कार्यपछि विमानमा सवार सबै २० जनाको ज्यान गएको पुष्टि गरेका छन्, जसमा कोही पनि जीवित व्यक्ति फेला परेनन्। जर्जियाको एयर ट्राफिक कन्ट्रोल सेवा ‘साकाएरोनाभिगेत्सिया’ का अनुसार सी–१३० हरक्यूलिस विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै राडारबाट हराएको थियो। विमान जर्जियाको सिघ्नाघी क्षेत्रमा, अजरबैजानसँगको सीमाबाट करिब पाँच किलोमिटर टाढा खसेको थियो।
टर्कीको रक्षा मन्त्रालयले भन्यो– ‘अजरबैजानबाट घर फर्किरहेको हाम्रो सी–१३० सैन्य कार्गो विमान जर्जिया–अजरबैजान सीमामा दुर्घटनाग्रस्त भएको छ।’ मन्त्रालयले विमानमा सवार सबै २० जना कर्मचारी उडान दलका सदस्यहरू रहेको पुष्टि गरेको छ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानले ‘सहिदहरूका लागि’ आफ्नो समवेदना व्यक्त गर्दै टर्कीले जर्जियाली अधिकारीहरूसँग समन्वय गरिरहेको बताएको राज्य समाचार एजेन्सी अनाडोलुले जनाएको छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले पनि सामाजिक सञ्जाल एक्समार्फत टर्कीको नेतृत्वप्रति समवेदना व्यक्त गरेका छन्। टर्कीका विदेशमन्त्री हाकान फिदानले पनि खोजी र उद्धार प्रयासका सम्बन्धमा आफ्ना जर्जियाली समकक्षी माका बोचोरिश्भिलीसँग समन्वय गरेका छन्।
अजरबैजानको मिडियामा प्रसारित फुटेजहरूमा विमान जमिनमा खस्नुअघि अनियन्त्रित रूपमा घुमेको र त्यसपछि ठुलो विस्फोट भई कालो धुवाँको मुस्लो देखिएको देखाइएको थियो । दुर्घटनास्थलका थप फुटेजहरूमा एउटा खेतमा जलेको भग्नावशेष देखाइएको छ । टर्कीको रक्षा मन्त्रालयले सञ्चारमाध्यमहरूलाई दुर्घटनाका दृश्यहरू प्रकाशन नगर्न आग्रह गरेको छ।
जर्जियाली एयर ट्राफिक कन्ट्रोल अधिकारीहरूका अनुसार यो विमान अजरबैजानको गन्जा विमानस्थलबाट उडेको थियो र कुनै सङ्कटकालीन सङ्केत नपठाएरै राडारबाट हराएको थियो ।














