ड्राइभिङ लाइसेन्स छपाइ भोलिदेखि सुरु हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुरक्षण मुद्रण केन्द्रले सोमबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार दैनिक कम्तीमा ५०० को दरले छपाइ हुनेछ ।

विभागका निर्देशक नरहरि तिवारीले भने, ‘सुरक्षण मुद्रण केन्द्रले बनेपामा छपाइ गरेर विभागलाई हस्तान्तरण गर्नेछ । यसपछि विभागले चालकलाई वितरण गर्छ ।’

यातायात व्यवस्था विभागले करिब २५ लाख सवारी लाइसेन्स छाप्न बाँकी रहेको जनाएको छ । यीमध्ये १२ लाख केन्द्रले छाप्ने भएको छ । केन्द्रले ३ देखि ६ महिनामा १२ लाख लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्ने तिवारीले बताए ।

लाइसेन्समा चिपको सट्टा क्युआर राखिने

यसअघि यातायात व्यवस्था विभागले छाप्दै आएको लाइसेन्समा चिप जडान गरिएको थियो । अब भने सुरक्षण मुद्रण केन्द्रबाट छपाइ हुने स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा चिपको सट्टा क्यूआर कोड प्रयोग हुनेछ । केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले नयाँ लाइसेन्सको स्वरूप परिवर्तन हुने र त्यसमा क्यूआर कोड प्रविष्ट गर्ने बताएका छन् ।

केन्द्रबाट छाप्न लागिएको लाइसेन्स पनि स्मार्ट कार्ड नै हुने उनको भनाइ छ ।

यस्तै सवारी लाइसेन्स छपाइको खर्च यातायात व्यवस्था विभागले व्यहोर्ने बताइएको छ । केन्द्रले एउटा लाइसेन्स छाप्दा लगभग १९५.१७ रुपैयाँ (करबाहेक) लागत अनुमान गरेको छ । यो लागत अनुसारको बजेट विभागले केन्द्रलाई उपलब्ध गराउने समझदारी भएको छ ।

अन्य सेवा प्रवाहका लागि परीक्षण गरिँदै

लाइसेन्स छपाइका लागि गत बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यातायात व्यवस्था विभागले सेवा प्रवाह गर्न परीक्षण थालेको छ । आजसम्म विभागको सर्भर डेटा लगायत प्रविधि परीक्षण सकिने विभागले जनाएको छ ।

विभागका निर्देशक नरहरि तिवारीले द्रुत गतिमा परीक्षण भइरहेको बताए ।

  • १६ कार्तिक २०८२, आईतवार १४:२६ प्रकाशित