मधेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले छठपछि विश्वासको मत लिने तयारी गरेका छन् । उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

यसबीचमा चाडपर्व परेकाले छठपछि विश्वासको मत लिने तयारीमा रहेको मुख्यमन्त्री सोनलले जानकारी दिए ।उनी जनता समाजवादी पार्टी ९जसपा०नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश सभामा यी पाँच राजनीतिक दलको सांसद संख्या ५७ छ । जसपा नेपालको १९, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ९ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद भए पुग्छ ।

तर, जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत फुटेर बनेको जनस्वराज पार्टीमा सनाखत गरिसकेका छन् ।

तथापि, जनमत पार्टीको विभाजन सम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले होल्ड गरिदिएको छ । अब विभाजनले अदालतबाट आधिकारिता नपाउँदासम्म जनस्वराज पार्टीमा सनाखत गरे तापनि जनमत पार्टीको संसदीय दलकै ह्वीप लाग्नेछ ।

  • ७ कार्तिक २०८२, शुक्रबार १२:१८ प्रकाशित