काठमाडौं ।
नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डले सुगौली सन्धि यता देश यस्तो संकटमा कहिले पनि नभएको उल्लेख गरेका छन् । बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित शुभकामना आदान-प्रदान तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उल्लेख गरेका हुन् ।
उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति राज्य विहिनताको स्थिति भएको टिप्पणी गरे । उनले यो परिस्थितिलाई सम्हल्न आफ्नो पार्टी र त्यसको नेतृत्वको हिसावले आफूले भूमिका खेलेको दाबी गरे ।
‘केही घन्टा त परिस्थिति यस्तो भयो, नेपाल राज्यविहीनताको जस्तो स्थिति देखा पर्यो । तर हाम्रो पार्टीलाई र त्यसको नेतृत्वको हैसियतले मलाई संयोग भनौं या अवसर भनौं, म त्यस्तो परिस्थितिमा पनि सबै राजनीतिक दलहरुसँग निरन्तर संवाद गर्ने, राष्ट्रपति र प्रधानसेनापतिसँग निरन्तर वार्ता र संवाद गर्ने अवसर प्राप्त भयो ।’
‘बिरलै नेताहरुलाई प्राप्त हुने अवसर माओवादी केन्द्रको नेतृत्वलाई प्राप्त भयो। अझ ठूलो दुर्घटनामा जानबाट देश बचाउन केही न केही सहजीकरणको भूमिका खेल्ने अवसर हामीलाई प्राप्त भयो । २६ गते रातभर नै राष्ट्रपति भवनमा हामीले केही न केही भूमिका खेल्ने अवसर प्राप्त गर्यौँ,’ उनले थपे ।















