विपिनको शव भोलि ल्याइदैं : नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा

केन्द्रभाग मिडिया

काठमाडौं ।

विद्रोही समूह हमासको अपहरणमा परेर हत्या गरिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ ।

इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा जोशीलाई श्रद्धाञ्जली दिन नेपालीहरू भेला भेला भएका हुन् ।

इजरायली विदेश मन्त्रालयको घोषणाअनुरुप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

श्रद्धाञ्जली सभामा इजरायलमा रहेका नेपालीहरू, इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी भएका छन् ।उनीहरूले पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पढ्दै कमाउने सपना बोकेर इजरायल पुगेका जोशीको हालै मृत्यु पुष्टि भएपछि घटनाले समग्र नेपालीजनमा पीडा दिएको छ । जोशीको शव भोलि सोमबार नेपाल ल्याउने तयारी छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइनेछ ।

सो विमान सोमबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।

  • २ कार्तिक २०८२, आईतवार १३:३२ प्रकाशित