कारागार कार्यालय कास्कीबाट फरार भएका थप ८१ जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

गत भर्दौ २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका थप ८१ जना कैदी तथा थुनुवाहरु पक्राउ परेका छन् ।

कारागारले फरार कैदी तथा थुनुवालाई आश्विन २० गते भित्र स्वस्फूर्त कारागारमा फर्किन अपिल गरेको थियो । सो मिति भित्र हाजिर नभए पश्चात् जिल्ला प्रहरी कार्यालय कास्कीले खोजतलास गरी बिभिन्न मुद्दाका ८१ जना फरार कैदी तथा थुनुवाहरुलाई पक्राउ गरी कारागार कार्यालय कास्कीमा बुझाइएको जानकारी दिएको छ ।

अन्य फरारहरुको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका १६ जना, लागू औषध मुद्दाका– १६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, ज्यान मार्ने उद्योग मुद्दाका ९ जना,अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अंगभंग मुद्दाका १ जना, कुटपिटबाट अंगभंग मुद्दाका– १ जना र मानव वेचविखन मुद्दाका– १ जना रहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।

  • ३० आश्विन २०८२, बिहीबार १६:४१ प्रकाशित