काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूलाई कात्तिक २ गतेसम्मको अन्तिम म्याद दिएको छ ।
तोकिएको समयभित्र बक्यौता नबुझाए सबै उद्योगको विद्युत् लाइन काट्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार प्राधिकरण सञ्चालक समितिले बक्यौता रकम उठाउने निर्णय गरिसकेको छ र सोही अनुसार कात्तिक २ गतेसम्म बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्ने सूचना जारी गरिएको छ।
प्रवक्ता ढकालले भने, ‘अहिलेसम्म कुनै पनि उद्योगले बक्यौता तिर्न आएका छैनन् । केही उद्योगी छलफलका लागि आएका छन् । बक्यौता तिर्नुको विकल्प छैन, नतिरे सबैको लाइन काटिन्छ ।’
प्राधिकरणले कात्तिक २ गते राति १२ बजेपछि बक्यौता नतिर्ने सबै उद्योगको लाइन काट्ने तयारी गरिरहेको छ । ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेपछि बक्यौता उठाउने निर्णय गरेका थिए । उनकै निर्णयलाई साथ दिँदै कार्यकारी निर्देशक मनोज सिलवाल पनि बक्यौता उठाउन सक्रिय छन् । प्राधिकरणको बोर्ड बैठकबाट पनि ट्रंकलाइन तथा डेडिकेटेड फिडरको महसुल बक्यौता उठाउनुपर्ने निर्णय भइसकेको छ ।















