पोखरा ।
गण्डकी प्रदेशमा दशैंको १५ दिन (घटस्थापनादेखि पूर्णिमासम्म) को अबधिमा २६ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीले दिएको तथ्यांक अनुसार प्रदेशभर २० स्थानमा भएका सवारी दुर्घटनामा परेर १४ जनाको ज्यान गुमेको छ । ज्यान गुमाउने १२ जना पुरुष र दुईजना महिला छन् । दुर्घटनामा परेर १० जना गम्भिरसहित १९ जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गोपी कृष्ण सुवेदीले दिएको जानकारी अनुसार सबैभन्दा धेरै दुर्घटना गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लामा भएका छन् । कास्कीमा १३ वटा सवारी दुर्घटनामा पर्दा त्यसमा सवार र पैदलयात्रु समेत गरेर सात जनाको ज्यान गुमेको छ । चार जना गम्भिर घाइते भएका छन् ।
नवलपुरमा ६ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । जसमा परेर दुईजनाको ज्यान गुमेको छ । तीन जना गम्भिरसहित ६ जना घाइते भएका छन् ।
तनहुँमा दुईवटा सवारीसाधन दुर्घटना हुँदा दुई जनाको ज्यान गुमेको छ । दुर्घटनाा परेर दुई जना समान्य घाइते भए । लमजुङमा दुई वटा सवार दुर्घटना हुँदा एक जनाको ज्यान गुमेको छ । १ जना गम्भिर घाइतेसहित दुई जना घाइते भएका छन् ।
दशैं अबधिमा मुस्ताङमा दुई वटा सवारीसाधन दुर्घटना भए । सो दुर्घटनामा परेर एक जनाको ज्यान गुमेको छ । एक जना गम्भिर घाइतेसहित दुई जना घाइते भएका छन् । त्यसैगरी बागलुङमा एउटा सवारीसाधन दुर्घटना हुँदा एकजनाको ज्यान गुमेको छ । एकजना गम्भिर घाइतेसहित दुईजना घाइते भएका छन् ।
पोहोरको दशैंमा भन्दा यसपालीको दशैंमा गण्डकीमा दुर्घटनाको संख्या घटेको छ भने ज्यान गुमाउनेको संख्या बढेको छ । पोहोरको दशैंमा गण्डकीमा २९ स्थानमा ४२ सवारीसाधन दुर्घटनामा परेका थिए । जसमा परेर १३ जनाको ज्यान गुमेको थियो । २४ जना घाइते भएका थिए । अहिलेको दशैंमा २० स्थानमा भएको दुर्घटनामा २६ वटा ससवारीसाधन दुघटनामा परेका छन् भने १९ घाइते भएका छन् ।
यसपालीको दशैंमा राम्रो सुरक्षा योजना बनाएर कार्यान्वयन भएका कारण पाहोरको भन्दा प्रदेशमा कम दुर्घटना भएको ट्राफिक प्रहरीको दाबी छ । गण्डकीका ११ वटै जिल्लामा यात्रु सहायता कक्षा राखेर यात्रु, चालक र सहचालकलाई सचेत बनाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गोपी कृष्ण सुवेदीले जानकारी दिए ।















