काठमाडौं ।
हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ ।
यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो । यसअघि विपिनसहित २ जनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा विपिन पनि रहेको उल्लेख गरेका हुन् ।
गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भइसकेको छ भने बन्धकहरू आज (आइतबार) वा भोलि (सोमबार) सम्म रिहा गरिने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताइसकेका छन्।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलयमा आक्रमण गर्दा विपिन पनि अपहरणमा परेका थिए ।
इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ । जीवित ठानिएका २२ बन्धकमध्ये जोशी फिर्ता आउने अपेक्षामा देश छ ।















