भक्तपुर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई सही बाटोमा फर्काउनका लागि संसद् विघटन तत्काल फिर्ता गर्नुपर्ने माग लिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका हुन्। अध्यक्ष ओलीले यो मागमा नेपाली काँग्रेस लगायतका सबै दलहरु अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरे ।
अध्यक्ष ओलीले ससद् पुनस्स्थापनाको माग अघि नबढाए मुलुक बर्बाद हुने चेतावनीसमेत दिए। असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरुलाई स्वीकारेर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुने ओलीको भनाइ थियो । उनले सो मागलाई अघि बढाउनका लागि समयमा दृढतापूर्वक अघि नबढे पछि पछुताएर बस्नुपर्ने अवस्था आउने पनि बताए।
अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दोहोर्याए ।














