काठमाडौं।
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले बैठक सञ्चालन गर्नेछन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो १ बजे बोलाइएको बैठकमा सभापति देउवा आउने सम्भावना कम रहेको जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बूढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । त्यो चोटमा १२ टाँका लगाइएको थियो ।
बैठक कहाँ बस्ने भन्ने स्थान पनि फिक्स नभएको पौडेलले बताए ।
पूर्वपदाधिकारी र डा. शेखरलाई पनि बोलाइयो
बैठकमा पूर्वपदाधिकारी र इतर समूहका नेता डा। शेखर कोइरालालाई बोलाइएको छ । पौडेलले डा। कोइरालालाई पदाधिकारी बैठकमा सधैँ बोलाउने गरिएको जानकारी दिए ।
असोज २६ गते आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाइएको हो ।














