गण्डकी प्रदेशसभा बैठक बस्दै नबसी अनिश्चितकालका लागि स्थगित

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशसभाको बैठक बस्दै नबसी अनिश्चितकालको लागि स्थगित भएको छ ।

दलहरूले जेन–जी आन्दोलनका कारण सिर्जना भएको परिस्थिति हालसम्म शान्त भइनसकेको कारण देखाएपछि गण्डकी प्रदेशसभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको हो । दिउँसो एक बजेका लागि पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो ।

विशेष कारणवश अर्को सूचना नभएसम्म बैठक स्थगित गरिएको प्रदेश सभा सचिव गोविन्द पौडेलले जारी गरेको सूचनापत्रमा उल्लेख छ । प्रत्यक्ष प्रसारणका लागि प्राविधिक तयारी नसकिएकाले बैठक स्थगित गरिएको सचिव पौडेलले बताए ।

सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य सबैको आसनका लागि टेबल–कुर्सी व्यवस्थापन गरिएको थियो । साउन्ड सिस्टम पनि भाडामा चलाउने तयारी सचिवालयको थियो । तर, मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस, एमाले र माओवादीले परिस्थितिअनुकूल नभएकाले तत्काल संसद् बैठक चलाउनु उचित नहुने सुझाव सभामुखलाई दिए ।

बाह्य वातावरणको कुरा उठेको र प्राविधिक तयारी नपुगेकाले बैठक स्थगित गर्नुपरेको सभामुख कृष्णप्रसाद धितालले बताए ।

  • २२ आश्विन २०८२, बुधबार १७:०८ प्रकाशित