काठमाडौं ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक परिवारले ल्याएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरूद्धको जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको छ।
मंगलबार दिउँसो चार मृतकका परिवारले परिसरमा जाहेरी बुझाएको परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईले जानकारी दिए।
‘भदौ २३ र २४ गतेको सम्बन्धी एउटा जाँचबुझ आयोग छ। ती दुई दिन भएका जति पनि भौतिक र मानवीय क्षतिसँग सम्बन्धित सूचना तथा निवेदनहरू हामीले जाँचबुझ आयोगको कार्यक्षेत्र पर्ने भएकाले उतै पठाएका छौं,’ उनले भने।
मृतकका परिवार पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका हुन्।
उनका अनुसार ओली र लेखकले मानवता विरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेको भन्दै जाहेरी परेको थियो। मानवता विरूद्धको कसुर मुलुकी अपराध संहितामा उल्लेख नभएको पनि उनले बताए।















