पोखरा ।
‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका ४८० कैदीबन्दी फर्किएका छन् । कारागारबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये अझै २९३ जना कैदीबन्दी फरार रहेका कास्की कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए ।
कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको उनले बताए ।
प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए ।
यसरी भागेका कैदीबन्दीलाई हिजो सोमबारसम्ममा कारागार फर्कन समय दिइएको थियो । तर, तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको कास्की कारागारका प्रशासक शर्माले बताए ।
कारागार विभागले फर्कनका लागि हिजोसम्मको समय दिएको र अब विभागको निर्देशन अनुरुप अगाडी बढ्ने उनले जानकारी दिए । ‘कैदीबन्दीलाई हिजोसम्मको समय विभागले दिएको हो । अझै २९२ जना फरार छन् । उनीहरुको बारेमा अब कसरी अगाडि बढ्ने भन्ने बारे विभागको निर्देशनको पर्खाइमा छौं’ उनले भने ।















