छिनछिनमा बत्ती जाने समस्या हटाउन उर्जामन्त्री घिसिङको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले छिनछिनमा बत्ति जाने समस्या हटाउन निर्देशन दिएका छन् ।

घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत भार प्रेषण केन्द्रको सोमबार साँझ अनुगमन गरेका थिए। बाढी, पहिरोले क्षति पुर्‍याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत सेवा चालु गराउनुपर्ने बताउँदै घिसिङले छिनछिनमा बत्ति जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी सोही बमोजिम मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न आग्रह गरे।

उनले विद्युतगृह, प्रशारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, विद्युत आपूर्तिका लागि महत्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोर २२० केभी, हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे ।

प्राधिकरणका कार्यकारी सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराएका थिए । मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरूलगायतका विषयमा जानकारी लिएका थिए ।

कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत सेवा चालु गराउन टोली तयारी अवस्थामा राखी सोही बमोजिम काम भइरहेको बताए ।

  • २१ आश्विन २०८२, मंगलवार १४:४९ प्रकाशित