नयाँ दिल्ली ।
पश्चिम बंगालको दार्जिलिङमा आइतबारको भारी वर्षापछि आएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।
ज्यान गुमाउनेमा सात जना बालबालिका भएको बताइएको छ । अझै पनि कयौँ मानिस बेपत्ता छन् । पहिरोले धेरै घरहरू बगाएको छ । दार्जिलिङ र सिक्किमबिचको सडक सम्पर्क देशको बाँकी हिस्साबाट काटिएको छ ।
बाढी र पहिरोका कारण हजारौँ पर्यटक अलपत्र परेका छन् । दार्जिलिङ र कुर्सियोङ बिचको राष्ट्रिय राजमार्ग पनि विच्छेद भएको छ । मिरिक र दुधिया नजिकै फलामको पुल भत्किँदा दार्जिलिङबाट सिलिगुडी जाने वैकल्पिक मार्ग अवरुद्ध भएको छ । अलिपुरद्वारमा रेलवे ट्र्याक डुबानमा पर्दा तीन वटा रेल रद्द गरिएको छ । दार्जिलिङ र कालिम्पोङमा चिया बगानहरू डुबानमा परेका छन् ।
दार्जिलिङ र बङ्गालका अन्य जिल्लाहरूमा २४ घण्टामा लगभग १६ इन्च वर्षा भएको छ । स्थानीयहरूका अनुसार १९९८ पछि दार्जिलिङ यस्तो मुसलधारे वर्षा भएको यो पहिलो पटक हो । मङ्गलवार बिहानसम्म दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी र कुचबिहारमा भारी वर्षा हुने अनुमान गरिएको छ । जसले गर्दा पहिरोको खतरा कायमै रहेको बताइएको छ ।















