जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै जाँचबुझ आयोग

केन्द्रभाग मिडिया

काठमाडौं।

गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा भएको दमन र विध्वंसात्मक घटनाबारे उच्चस्तरीय जाँचबुझ आयोगले काम थालेको छ ।

बबरमहल स्थित जल तथा मौसम विज्ञान विभागमा कार्यालय स्थापना गरेर आयोगले काम सुरु गरेको हो । असोज ९ बाट काम थालिएको आयोगका सदस्य पूर्व एआईजी विज्ञानराज शर्माले रातोपाटीलाई बताए ।

आयोगले पहिलो चरणमा भदौ २३ मा माइतीघर र नयाँ बानेश्वरमा खटिएका प्रहरी अधिकृतहरूसँग बयान लिने भएको छ । प्रदर्शनमा हुलदङ्गा नियन्त्रण गर्न खटिएका प्रहरीको सूची मगाएर सोधपुछ गर्ने तयारी भइरहेको बताइएको छ ।

त्यस्तै आयोगले गृह मन्त्रालय मार्फत क्षतिको विवरण माग्ने निर्णय गरेको छ । उद्योग प्रतिष्ठान र निजी क्षेत्रको पनि क्षतिको विवरण माग गरिने आयोगका पदाधिकारीहरू बताउँछन् ।

आयोगको नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले गरेका छन् । आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारी सदस्य छन् ।

  • १० आश्विन २०८२, शुक्रबार १६:१६ प्रकाशित