देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको हो ।

‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी एवं निवर्तमान सरकारको परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दिपक खड्काको सम्पत्तिबारे केही प्रमाण संकलन भएको थियो, ‘ती प्रमाणको वस्तुपरकता, यथार्थ परीक्षण गर्न नेपाल प्रहरीको डिएफएलमा आफैं प्रमाण सहितको पत्र पठाइएको स्रोतले बताएको छ ।

कुनै विषयमा उजुरी परेर त्यसका थप प्रमाण संकलनका प्रक्रियाहरू बढेपछि अनुसन्धान शुरु हुने बताइएको छ ।
विभागसम्बद्ध स्रोतका अनुसार, पैसाका टुक्राहरू, खरानीका साथै देउवा र खड्का निवासको भिडियो संकलन भएको थियो । त्यसक्रममा पैसा छरेको र उडाएको भेटिएको थियो । तीमध्ये केही मानिसहरूसँग विभागका अधिकारीहरूले अनौपचारिक कुराकानीपछि थप प्रक्रिया अघि बढाएका हुन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला समानान्तर रुपमा भूमिगत गिरोह परिचालन गरेको आरोप खेप्ने आरजुमाथि सार्वजनिक पदमा नियुक्तिदेखि राजकीय कामकारवाहीमा सार्वजनिक पदको दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ ।

नक्कली शरणार्थी प्रकरणमा समेत नाम मुछिएकी आरजुमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ । उर्जामन्त्री खड्का मन्त्री हुँदा पदको दुरुपयोग गरेको र स्वार्थ जोडिएको काम गरेको आरोप लाग्ने गरेको छ ।

  • ९ आश्विन २०८२, बिहीबार १६:५८ प्रकाशित