काठमाडौं।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले नामको अगाडि माननीय लेखिएको बोर्ड कार्यकक्षबाट हटाएका छन्।
कार्यकक्ष प्रवेश गर्ने ढोका बाहिर मन्त्रीको नाम लेखिएको बोर्ड राख्ने गरिएको हुन्छ। बोर्डमा मन्त्री कार्यकक्षमा रहे नरहेको तथा व्यस्त रहेकोबारे जानकारी दिन ‘भित्र, बाहिर र व्यस्त’ लेखिएको हुन्छ।
सोही बोर्डमा कर्मचारीले मन्त्री पुनको नाम अगाडि माननीय लेखेका थिए। त्यो देखेपछि मन्त्री पुनले माननीय हटाएर नाम मात्र लेख्न निर्देशन दिएका हुन्। त्यसपछि कर्मचारीले पेपरमा प्रिन्ट गरेर नाम मात्र राखेर टासेका छन्।
मन्त्री पदको शपथलगत्तै पदभार ग्रहण गर्दा उनले आफूलाई माननीय मन्त्री नभन्न आग्रह गरेका थिए।मन्त्रालयभित्र कर्मचारीले मन्त्री भन्न सक्ने भए पनि बाहिर कसैले पनि मन्त्री भनेर सम्बोधन नगर्न उनले आग्रह गरेका थिए ।















