काठमाडौं ।
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरो पन्छाउने कार्य युद्धस्तरमा जारी रहेको छ। हालसम्म करिब ६० प्रतिशत पहिरो हटाइएको र कुनै अवरोध नआएमा बिहीबार रातिसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने आकलन गरिएको हो।
सडक डिभिजन कार्यालयका अनुसार पहिरो पन्छाउनका लागि दुवैतर्फबाट भारी उपकरणहरूको प्रयोग भइरहेको छ। नारायणगढतर्फबाट एउटा एक्साभेटर र एउटा लोडर प्रयोग भइरहेको छ। त्यस्तै, मुग्लिनतर्फबाट दुईवटा लोडर र एउटा एक्साभेटर परिचालन गरिएको छ।
यसका अतिरिक्त, दुवैतर्फ १र१ वटा ब्याकअप लोडर तयारी अवस्थामा राखिएको छ। तर, काम गर्ने क्षेत्र साँघुरो भएकाले एक पटकमा बढीमा ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ।
पहिरो पन्छाउने क्रममा नारायणगढतर्फ ठूलाठूला ढुंगाहरूका कारण केही कठिनाइ आए पनि उपलब्ध उपकरणहरूले पूर्ण क्षमताका साथ काम गरिरहेका छन्।
पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र साना तिखा ढुंगाहरूका कारण टायर पन्चर हुने, साथै ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरूले गर्दा सोचेअनुसारको प्रगति हुन सकेको छैन।
यस समस्यालाई सम्बोधन गर्दै कार्यलाई थप गति दिनका लागि हेभि इक्विपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुई जना अपरेटरहरू पनि थप गरिएको छ।
सडक पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न वा धैर्य धारण गर्न आग्रह गरिएको छ।















