अर्थमन्त्रीलाई इमेलबाट १६६ गुनासा, तीनवटा तत्काल समाधान

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री रामेश्वर खनाल र अर्थ मन्त्रालयको गुनासो मेल बक्समा ६ घण्टाकै अवधिमा १ सय ६६ वटा गुनासोयुक्त इमेल आएका छन् ।

अर्थ मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो भए वा कर्मचारीले घुस मागेमा सीधै इमेल गर्न सूचना निकालिएको थियो । सूचना सार्वजनिक भएको ६ घण्टामा १६६ बढी गुनासो आएका र त्यसमा तीन वटा गुनासा तत्काल समाधान गरिएको अर्थमन्त्रीले बताएका छन् ।

अर्थमन्त्रीका अनुसार २ दर्जन इमेलको अर्थमन्त्रीले जवाफसमेत दिएका छन् । उनले तीमध्ये धेरैमा कारबाहीसमेत गरिसकिएको जानकारी समाजिक सञ्जालमार्फत दिएका छन् । उनले इमेलमा प्राप्त भएका गुनासोमध्ये तीन गुनासा तत्काल समस्या समाधान गरिएको बताए ।

अर्थमन्त्री खनालका अनुसार पहिलो समाधान गरिएको गुनासोमा कोशी प्रदेशको म्याङलुङ नगरपालिकामा स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रमा देखिएको समस्याका कारण त्यहाँका कर्मचारीले तलब खान पाएका थिएनन् । यो समस्या समाधान गरिएको छ ।

त्यस्तै दोस्रोमा, तार्केश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले काम नगरेर दुःख दिएको गुनासो साँचो ठहरिएपछि उनको सरुवा गरिएको छ । तेस्रोमा, कर फिर्ता माग्दा दुई प्रतिशत कमिसन दिनुपरेको गुनासो आएपछि अर्थमन्त्री खनालले ‘अख्तियार पठाउनुपर्ने हो’ भन्दै सचेत गराएका थिए । लगत्तै यो समस्या सल्टिएको अर्थमन्त्रीले बताएका छन् ।

अर्थमन्त्री खनालले इमेलमा प्राप्त बाँकी गुनासोको पनि यथाशीघ्र जवाफ दिइने बताएका छन् । यससँगै अब आफ्नो व्यक्तिगत समस्याहरूको समाधान खोज्न सिंहदरबार धाउनुपर्ने बाध्यतासमेत हट्ने अर्थमन्त्री खनालको भनाइ छ ।

  • ८ आश्विन २०८२, बुधबार १५:०४ प्रकाशित