काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पदभार ग्रहण गरेका छन् ।सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो ।
जेनजी आन्दोलनपछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले गत आइतबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेका थिए।
कार्यकारी निर्देशक सिलवालले मंगलबार ऊर्जा मन्त्रालयबाट नियुक्ति पत्र बुझेसँगै पदभार ग्रहण गरेका छन् । उनले कार्यकारी निर्देशक पदभार ग्रहण गर्दै तत्कालीन ऊर्जा मन्त्री खड्काले आर्थिक प्रशासनिक विनियमावली अनुसार ठुलो आयोजना प्रतिस्पर्धापछि मात्रै गर्ने गरी कमिटी गठन गर्ने स्वीकृत गरेका छन् ।
त्यस्तै तत्कालीन ऊर्जा मन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको अध्यक्षको हैसियतमा कर्मचारी सेवा सर्त विनियमावली १२ औँ संशोधन पुनरावलोकनका लागि सञ्चालक समितिमा पेस गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
कार्यकारी निर्देशक सिलवालले तत्कालीन ऊर्जामन्त्री खड्काले प्राधिकरणका १०औँ तहदेखिका कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवाको अधिकार कार्यकारी निर्देशकबाट खोसिएको थियो ।
उक्त निर्णयलाई पुनरावलोकन गरी कार्यकारी निर्देशकले नै १० औँ र सोभन्दा माथिल्ला तहका कर्मचारीको सरुवा, बढुवा र काजमा खटाउने अधिकार कार्यकारी निर्देशकलाई गर्ने निर्णयमा हस्ताक्षर गरिएको बताए । उनले दसैँ र तिहार नजिक आएकाले त्यसलाई फोकस गरेर काम गर्ने बताए ।
उनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने पहिलो प्राथमिकता रहने बताए । कार्यकारी निर्देशक सिलवालले विद्युत् बक्यौताका विषयमा विगतमा भएका निर्णयहरूलाई समेत पुनरावलोकन गरी तत्काल बक्यौता उठाउने गरी अघि बढ्ने योजना रहेको उल्लेख गरे ।















