पोखरा ।
चाडबाडमा यात्रुको सुरक्षाका लागि गण्डकी प्रदेशको राजधानी पोखरा र गण्डकी प्रदेश अन्तर्गतका सबैजसो जिल्लाहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । पोखराको पोखरा बसपार्कमा स्थापित यात्रु सहायता कक्षको प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले सोमबार सरोकारवालाहरुको उपस्थितिका बिच शुभारम्भ गरेका हुन् ।
शुभारम्भ गर्दै उनले नेपाल प्रहरी, ट्राफिक प्रहरी, सेवाग्राही यात्रु र यातायात व्यवसायी एवं मजदुरको सहकार्यले यात्रा सुरक्षित र व्यवस्थित बनाउन सकिने बताए । उनले कानुनको कार्यान्वयनमा सबै प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । उनले विगतबाट सिकेर त्यसलाई आत्मसात गर्दै कर्तव्य र अधिकारको प्रयोग गर्नुपर्नेमा जोड दिए । यस्ता विषयलाई तालिम प्रशिक्षणको आवश्यकता भन्दा व्यवहारिक कार्यन्वयनको आवश्यकता रहेको उनको भनाई छ ।
यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले चालक सहचालक र यात्रु बिचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने बताए । उनले भिडभाडमा अन्तरसम्बाद मर्यादित हुनुपर्ने उनको भनाई थियो । सहायता कक्षले प्रहरी र नागरिक बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उनले उल्लेख गरे ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले गण्डकी प्रदेशका सबै जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरेर सेवा दिइएको जानकारी दिए । यो वर्ष सुरक्षा संबेदनशीलता धेरै रहेकाले त्यही अनुरुपका तयारी गर्नुपर्ने उनको भनाई छ ।
चाडपर्व नजिकिँदै गर्दा सवारी आवागमनमा हुने बृद्धि, चालकको लपरबाही तिव्रगति लगायतका कारण जोखिम बढ्ने, यात्राका क्रममा चोरी लुटपाट, बढी भाडा असुली र यात्रुलाई बिचबाटैमा अलपत्र पार्ने लगायतका गतिविधि हुनसक्ने उनले औंल्याए । सबै सरोकारवाला बिचको सहकार्यले यस्ता कार्यको व्यवस्थापन गर्न सकिने उनको भनाई छ । सुरक्षा गस्ती, सुरक्षा चेकजाँच गर्ने र यात्रुलाई सहजताका लागि विन्ध्यवासिनी बसपार्क, पर्यटन बसपार्क पोखरा बसपार्कसहित कास्कीका ११ स्थानमा सहायता कक्ष स्थापना गरिएका उनले जानकारी दिए । चाडबाडलाई लक्षित गरेर गण्डकी प्रदेशभर ५ हजार ५ सय जना प्रहरी जनशक्ति परिचालित हुने समेत उनले बताए । उनका अनुसार गण्डकी प्रदेशका विभिन्न ३५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले गण्डकी भित्रका सबै यातायात कम्पनीले चाडबाबका बेला गम्भिर भएर सेवा दिनुपर्ने बताए । उनले सवारी व्यवस्थापनका कूरा धेरै गरेपनि व्यवहारिक रुपमा अगाडि बढ्दा देशैभर सकारात्मक सन्देश जाने धारणा राखे । सामाजिक उत्तरदायित्वबाट व्यवसायी पछाडि नहट्ने उनको भनाई थियो ।
चाडपर्वका बेला अन्य समयको तुलनामा यात्रुको चाप बढी हुने, सुरक्षा चुनौती रहने र यातायात मजदुरलगायतबाट यात्रु ठगिने सम्भावना भएकाले सोको न्यूनीकरणका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको कास्की ट्राफिक प्रमुख शोभा पाण्डेले जानकारी दिइन् ।
यात्रु सहायता कक्ष शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले विपदमा साच्चै नै प्रहरी मेरो साथिको रुपमा रहेको धारणा राखिन् । त्यसैगरी नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष किरण बाबु पन्तले चालकको जिम्मेवारी यात्रुलाई गन्तव्यसम्म पुर्याउने रहेकाले यात्रुलाई लैजाने क्रममा आवश्यक चेकजाँच गर्न र व्यवहारिकता हेर्न आग्रह गरे ।
















