काठमाडौं ।
गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’ सार्वजनिक गरिएको छ । हमासको सशस्त्र शाखाले राखेको ‘बिदाई तस्वीर’ मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश छ ।
सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले घेरीएको क्षेत्रको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेको बेला हमासले यो बिदाई तस्वीर सार्वजनिक गरेको हो ।
कस्साम ब्रिगेड्सले शनिबार अनलाइनमा एउटा संकलित फोटो पोस्ट गरेको छ । त्यसमा जीवित र ज्यान गुमाएका दुवै बन्दीहरूको अनुहार देखाइएको छ । तिनीहरू सबैलाई ‘रोन अराड’ भनेर क्याप्सन गरिएको थियो ।
यसले सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेनलाई जनाउने अल जजिराले लेखेको छ ।
शनिबार लाखौं इजरायलीहरू तेल अभिभ र अन्य शहरका सडकमा उत्रेर सरकारको विरोध गरिरहेको र युद्ध अन्त्य गरी सबै बन्दी फर्काउन तुरुन्तै सम्झौता गर्न माग गर्ने तयारी भइरहेको बेला हमासले यो सूची सार्वजनिक गरेको हो ।














