पोखरामा बढ्यो चोरको बिगबिगी (भिडियोसहित)

केन्द्रभाग मिडिया

chori

पोखरा ।

जेनजी समूहको प्रदर्शनमा घुसपैट गरेर आराजक समूहले गरेको आगजनीमा भएको क्षति लगत्तै पोखरामा चोरीका घटना बढेका छन् । दिन दहाडै चोरले कोही नभएको मौका छोपेर चोर्ने क्रम बढेको हो ।

गत २७ भदौमा लेखक गनेस पौडेलको पोखरा १४ स्थित घरमा दिउँसै चोरी भयो । पैसा र गरगहना राखेको स्थानबाट सामान चोरी भएको भन्दै उनले चोर समातेर बुझाउनेलाई पुरस्कारको नै घोषणा गरेका छन् ।

पोखरा ४ को ग्रह्रापाटन स्थित गोविन्द बरालको कोठामा चोरी गर्न २६ गते बिहीबार चोर पसेको अवस्थामा स्थानीयले बोलाएर सशस्त्र प्रहरीको जिम्मा लगाइदिए । त्यस्तै २७ गते शुक्रबार पोखरा ५ मालेपाट स्थित गोलचौतारा नजिक एक घरमा दिउँसै चोर पस्यो । स्थानीयले समातेर प्रहरीको जिम्मा लगाए । पछि थाहा लाग्यो त्यहाँ चोरी गर्न जाने ति व्यक्ति कास्की कारागारबाट भागेका कैदी रहेछन् ।

भदौ २८ गते राति पोखरा ४ गैह्रापाटन बस्ने विपिन पराजुलीको स्कुटर पार्किङ गरेर राखेकै ठाउँबाट चोरी भयो यी चोरीका सामान्य प्रतिनिधि घटना मात्र हुन् । प्रहरी कार्यालय आगजनीमा परेकाले यो अबधिमा कति चोरी भयो भन्ने ठ्याक्कै रेकर्ड छैन । तर चोरी भयो भन्दै प्रहरी खोज्नेहरु धेरै नै रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीया बताउँछन् ।

यतिबेला चोरी लगायतका विभिन्न अपराधमा संलग्न भएर जेल जीवन विताएका १० हजार भन्दा धेरै कैदीबन्दी जेल बाहिर छन् । जेलबाट फरार रहेकाहरु गाउँ फर्केर जाँदा समाजले नै तिरस्कार गर्ने भएकाले ति मध्य केही सहरबजारमै चोरी र लुटपाटमा संलग्न हुनसक्ने प्रहरीको आशंका छ ।

यस्तो बेला आफ्नो घर र डेरामा राम्रोसंग सुरक्षित राख्न र समूदायमा नै निगरानी समूह बनाएर रेखदेख गर्न कास्की प्रहरी प्रमुख श्यामबाबु ओलीया सल्लाह दिन्छन् । प्रहरी पनि अब अफ्नो नियमित गतिविधिमा फर्केको जानकारी दिएका उनले सुरक्षा निकायसंग समन्वय गर्न आग्रह गरे ।

  • ३० भाद्र २०८२, सोमबार १०:३३ प्रकाशित