सम्पर्कमा आउन थाले कास्की कारागारबाट भागेका कैदीबन्दी

३०० भन्दा बढी सम्पर्कमा, कारागार मर्मतसंहार गरेर छिट्टै राख्ने तयारी

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की कारागारबाट भागेका कैदीबन्दी सम्पर्कमा आउन थालेका छन् । जिल्ला कारागार कास्कीका अनुसार सम्पर्कमा आइसकेका ६० जना कैदीबन्दीको अस्थायी व्यवस्थापन भएको छ ।

थप तीन सय कैदीबन्दी सम्पर्कमा आएको कास्की कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए । ‘कैदीबन्दीहरु धमाधम सम्पर्कमा आइरहेका छन् । उनीहरुलाई राख्नका लागि विद्युत मर्मत लगायतका काम गर्नुपर्ने छ । त्यो काम सकेर छिट्टै कारागारमा राख्ने तयारीमा छौं’ उनले भने ।

प्रशासक शर्माका अनुसार कैदीबन्दी राखिने ठाउँमा कुनै क्षति नभएपनि प्रशासक बस्ने लगायतका अन्य संरचनामा आगजनी भएकाले बस्न मिल्ने अवस्थामा छैनन् । तर, त्यसको पनि व्यवस्थापन गरेर अगाडि बढ्ने तयारी भएको उनले बताए ।

गत मंगलबार साँझ जेनजी प्रदर्शनकारीको सहयोगमा कैदीबन्दी कारागार तोडेर भागेका थिए ।  कास्की कारागारमा ब्लक ‘ए’ र ब्लक ‘बी’ मा ७३८ पुरुष कैदीबन्दी थिए भने महिला ब्लकमा ३५ जना गरेर जम्मा ७७३ जना कैदीबन्दी थिए ।

 

 

 

  • २७ भाद्र २०८२, शुक्रबार १३:५८ प्रकाशित