जेन–जी प्रदर्शन : १८ को ज्यान गुम्यो, २ सय ५६ जना घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको ज्यान गुमेको छ । २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको ज्यान गुमेको हो । इटहरीमा भएको भएको प्रदर्शनको क्रममा थप दुई जनाको ज्यान गुमेको छ।

सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंमा कर्फ्यू जारी हुँदा पनि प्रदर्शनकारीले सडक छाडेका छैनन् ।

संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको छ । पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ३ जनाको ज्यान गुमेको छ । त्यहाँ १०० जना घाइतेको उपचार जारी छ ।

सिभिलबाट १५ जना गम्भीर घाइतेलाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर गरिएको छ । मन्त्रालयका अनुसार वीर अस्पतालमा ६ जना घाइतेको उपचार भइरहेको छ ।

ट्रमा सेन्टरमा ८ जनाको ज्यान गुमेको छ । त्यहाँ ४९ जना घाइते उपचारत छन् । मन्त्रालयका अनुसार ट्रमा सेन्टरमा विपद् योजना लागू गरिएको छ ।

एभरेष्ट अस्पतालमा ३ जनाको ज्यान गुमेको छ । ३४ घाइते उपचारत छन् । उनीहरु मध्ये ७ जनाको अवस्था गम्भीर छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना घाइते उपचारत छन् काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केमएसी)मा २ जनाको ज्यान गुमेको छ भने ३२ जना घाइतेको उपचार भइरहेको छ ।

केएमसीमा ६ जना गम्भीर घाइतेको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालमा एक जनाको ज्यान गुमेको छ । त्यहाँ १८ जना घाइते उपचारत छन् ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना घाइते उपचारत छन् । पोखरामा गण्डकी मेडिकल कलेजमा १ जना र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना घाइते उपचाररत छन् । झापाको दमकमा ७ जना घाइतेको उपचार भइरहेको छ ।

  • २३ भाद्र २०८२, सोमबार १९:०३ प्रकाशित