स्याङ्जा ।
गल्याङ नगरपालिकाभित्रका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि साक्षरता तथा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आइसिएफसी फाइनान्स लिमिटेड गल्याङ शाखाको आयोजनामा तथा गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नगरपालिकाभित्रका विद्यालयका एसईई तयारी गरिरहेका विद्यार्थीहरूलाई निःशुल्क अनलाइन शिक्षा उपलब्ध गराउने उद्देश्य राखिएको थियो ।
कार्यक्रममा आइसीएफसी फाइनान्स लिमिटेडको पहलमा एमवियसन गुरु मार्फत सञ्चालित अनलाइन कक्षा सम्बन्धी जानकारी दिइएको थियो । यस अवसरमा घुन्सा फाउन्डेशनकी संस्थापक याङजोम शेर्पाले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिँदै अध्ययनमा निरन्तरता र लगनशीलता आवश्यक रहेको बताए ।
गल्याङ नगरपालिकाका १९ विद्यालयका कक्षा १० का ३२४ विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा नगरप्रमुख गुरुप्रसाद भट्टराईले विद्यार्थीहरूलाई सकारात्मक सोच, उर्जा र समाजप्रति चेतनासहित अध्ययनमा लाग्न आग्रह गरे । उनले वित्तीय ज्ञान विद्यालय जीवनमै प्राप्त भएमा भविष्यमा जिम्मेवार नागरिक बन्न सजिलो हुने उल्लेख गरे।

सो कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भविस्वर घिमिरे, वडा नम्बर–३ का अध्यक्ष कृष्ण भट्टराई, वडा नम्बर–४ का अध्यक्ष ढाकाराम न्यौपाने, वडा नम्बर–८ का अध्यक्ष झिमबहादुर थापा, साथै आइसिएफसी फाइनान्स लिमिटेड पोखराका शाखा प्रबन्धक सुजेस पन्तको पनि उपस्थिती रहेको थियो । उपस्थित अतिथिहरूले विद्यार्थीलाई वित्तीय चेतना दिन यस्ता कार्यक्रम आवश्यक भएको र निरन्तरता दिलाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा स्वागत मन्तव्य आइसिएफसी फाइनान्स लिमिटेड गल्याङका शाखा प्रबन्धक सन्दीप अधिकारीले राखेका थिए भने सञ्चालन खगेन्द्र भण्डारीले गरेका हुन्।
आइसिएफसी फाइनान्सका मार्केटिङ प्रमुख सन्जोग गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।














