अफगानिस्तानमा फेरि भूकम्प

केन्द्रभाग मिडिया

काबुल ।

बिहीबार राति अफगानिस्तानको दुर्गम दक्षिण–पूर्वी क्षेत्रमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ । यो पछिल्लो छ दिनमा आएको तेस्रो भूकम्प हो ।

यसैबिच, विगतमा गएका भूकम्पमा मृत्यु हुनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ । बिहीबार स्थानीय समय अनुसार राति ८ः५६ बजे भूकम्प गएको थियो । नान्गारहार र कुनार प्रान्तमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू आतङ्कित भएर आफ्नो आश्रयस्थलबाट बाहिर निस्किएका थिए ।

बिहीबार राति आएको भूकम्पमा जनधनको क्षतिको कुनै आधिकारिक पुष्टि भएको छैन । स्थानीय डाक्टरहरूले बीबीसीलाई बताएअनुसार १७ जना घाइतेहरूलाई उक्त क्षेत्रको अस्पतालमा ल्याइएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयका अनुसार आइतबार गएको भूकम्पमा हालसम्म १ हजार ३६८ जनाको ज्यान गएको छ भने २ हजार १८० जना घाइते भएका छन् ।

यी तथ्याङ्क २५ गाउँबाट प्राप्त रिपोर्टमा आधारित छन् । बीबीसी उर्दूका अनुसार बिहीबार राति पाकिस्तानका धेरै क्षेत्रमा पनि भूकम्पका झट्का महसुस गरिएको थियो ।

  • २० भाद्र २०८२, शुक्रबार १२:४४ प्रकाशित