पन्जाबमा बाढीका कारण ३० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।

भारतको उत्तरी राज्य पन्जाबमा भारी वर्षा र बाढीका कारण ३० जनाको ज्यान गएको छ । ३ लाख ५४ हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् ।

नदी र बाँधमा पानीको स्तर खतराको स्तरनजिक पुगेपछि अधिकारीहरूले राज्यका २३ वटै जिल्ला बाढीका कारण प्रभावित भएको घोषणा गरेका छन् । न्यून तटीय क्षेत्र र बाढी प्रभावित स्थलबाट झन्डै २० हजार मानिसको उद्धार गरिएको छ ।

आश्रय दिन र प्रभावित घरपरिवारलाई अत्यावश्यक सुविधा दिन सयौँ उद्धार क्याम्प स्थापित गरिएको छ । यो १९८८ यता राज्यमा आएको सबैभन्दा खराब बाढी भएको पन्जाबका मुख्य मन्त्री भगवन्त मानले बताएका छन् । पन्जाबलाई भारतको खाद्य डालो भनिन्छ । यो त्यहाँको कृषि उत्पादनको मुख्य स्थान पनि हो भने राज्यका एक चौथाइ मानिस कृषि पेसामा निर्भर छन् ।

बाढीले ग्रामीण भेगका जनजीवन तहसनहस भएको छ । भारी वर्षाले राज्यको सतलज, ब्यास र राभी नदीमा पानीको स्तर खतराको स्तरमा पुगेका छन् । सयौँ न्यून तटीय क्षेत्र जोखिममा परेका छन् । कयौँ बाँधहरूमा पानीको स्तर पूर्ण क्षमता नजिक पुगेको बताइएको छ ।

  • १८ भाद्र २०८२, बुधबार १६:०९ प्रकाशित