डडेल्धुरा ।
डडेल्धुरामा आज बिहान भएको जिप दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आज बिहान करिब ९ बजे भएको दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाको परिचय खुलेको छ। नवदुर्गा गाउँपालिका–५ कै चार जनाको ज्यान गएको हो। घाइते पनि सोही ठाउँका हुन्।
ज्यान गुमाउनेमा १८ वर्षका सुरेश साउँद, २३ वर्षका सुरेश पार्की, ४० वर्षकी तारा अवस्थित, र ७२ वर्षीया कलावती साउद रहेका छन्। चालक ३५ वर्षीय रामबहादुर साउदले चलाएको से।१ ज ७३८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।
ठाँटा बजारबाट डडेल्धुरा बजारतर्फ आउँदै गरेको जिप भित्री सडक खण्डको चौडमा दुर्घटना भएको हो। जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
यसैगरी दुर्घटनामा परी ६ जना घाइते भएका छन्। घाइतेहरूमा १८ वर्षीया सुशीला विक, ४ वर्षीय प्रतिक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक रहेका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पतालतर्फ पठाइएको छ। दुर्घटनाको कारण खुलेको छैन।















