निर्णयबाट पछि हट्दै सरकारले भन्यो, इम्बोस्ड नम्बर अब ऐच्छिक मात्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

चौतर्फी दबाब र आलोचना पछि सरकार इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट पछाडी हटेको छ । यातायात व्यवस्था विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट बाध्यकारी नभइ स्वैच्छिक भएको जनाएको छ । यसअघि यो बाध्यकारी बनाउने भनिएको थियो ।

विभागका अनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था अनिवार्य गरिएको र यातायात व्यवस्था ऐन, २०४९, यातायात व्यवस्था नियमावली, २०५४ तथा मन्त्रिपरिषद् बैठकका निर्णयहरूमा आधारित रहेको प्रष्टीकरण दिएको छ ।

असोज १ सम्म जडान नगरिए दण्ड जरिवाना गरिने भनी भ्रम फैलाइएको भन्दै तत्काल कुनै जरिवाना वा कारबाही नगरिने र आफूलाई अनुकूल भएको समयमा जडान गर्न सकिने पनि विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेटका तथ्याङ्क विदेशीको हातमा जाने र राष्ट्रिय सुरक्षामा खतरा हुने भनिएको विषय हल्ला मात्रै भएको विभागको स्पष्टोक्ति दिएको छ ।

“इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी सम्पूर्ण विवरण तथा तथ्याङ्कहरू यातायात व्यवस्था विभाग परिसरमा रहेको डाटा सुरक्षा केन्द्रमा सुरक्षित रहने गरी व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

  • १० भाद्र २०८२, मंगलवार १८:५० प्रकाशित