पोखरा ।
कास्की प्रहरीले पोखरामा ‘अप्रेसन यल्लो मेटल’ नाम दिएर गरेको खोजतालसले सुनचाँदीको अबैध कारोबार गर्ने गिरोहलाई नियन्त्रणमा लिन सफल भएको छ । लामो समयको गोप्य अनुसन्धान पछि प्रहरीले शुक्रबार दिउँसो ४ बजेदेखि एकैसाथ मोहरिया टोल, तर्सापट्टी, भैरवटोल र चिप्लेढुंगाका विभिन्न पसल र कार्यस्थलमा छापा मारेर ठूलो परिमाणमा सुनचाँदी र नगरदसहित ११ जनालाई पक्राउ गरेको हो ।
गण्डकी प्रदेश प्रहरी, कास्की प्रहरी र मातहतका इकाइको संयुक्त टोलीले ६.४ किलो सुन, चार सय ४४ तोला चाँदी र नगदसहित ११ जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए । बरामद गरिएको सुनको बजार भाउ ११ करोड एक लाख रुपैयाँ रहेको छ । पक्राउ परेकाहरुबाट नगद पाँच लाख १४ हजार रुपैयाँ बरामद भएको छ ।
एसपी ओलियाका अनुसार पक्राउ पर्ने सबै ११ जना भारतीय नागरिक हुन् । भारतको महाराष्ट्र तथा पश्चिम बंगाल घर भई पोखरामा विभिन्न स्थानमा बस्ने उनीहरूलाई पक्राउ गरेर कास्की प्रहरीले पत्रकार भेटघाट कार्यक्रम मार्फत शनिबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्ज्वल भोमिक, ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझी छन् ।
पक्राउ परेकाहरुलाई बरामद सुन, चाँदी र नगदसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइने प्रहरीले जनाएको छ ।















