साउन ३१ गते पोखराको बाटुलेचौरमा ‘२६ औं राष्ट्रिय कृष्ण भजन’ प्रतियोगिता हुदैं

केन्द्रभाग मिडिया

पोखरा ।
शुक्ला साहित्य प्रतिष्ठान पोखरा १६ बाटुलेचौरले २६ औं राष्ट्रिय कृष्ण भजन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यहि साउन ३१ गते परेको श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रतिष्ठानले पोखरा १६ बाटुलेचौर मैदानमा उक्त प्रतियोगिता आयोेजना गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

उक्त प्रतियोगितामा सहभागी हुन चाहनेले यही साउन २७ गते अपरान्ह ५ बजेसम्म समुह दर्ता गर्न सक्ने प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिइन्। अध्यक्ष गौतमको अनुसार समुह दर्ता गर्नका लागि ३ हजार रुपैयाँ शुक्ल लाग्ने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुने समुहलाई ५० हजार, सान्त्वना हुने समुहलाई २५ हजार र प्रत्येक सहभागि समुहलाई ५–५ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले बताए ।

प्रतियोगिता आयोजनाका लागि १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको प्रतिष्ठानका कोषाध्यक्ष मोहनकुमार सुनारले बताए ।

‘कला सहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य’ भन्ने नाराका साथ २०४५ साल स्थापना भएको यस प्रतिष्ठानले साहित्य गोष्ठी, कार्यशाला र सेमिनारहरु पनि आयोजना गर्दै आइरहेको सचिव रामप्रसाद पौडेलले जनाए ।

पौडेलको अनुसार प्रतिष्ठानले साहित्यिक धरोहर एवम् राष्ट्रिय व्यक्तिहरुको जीवन वृत्तान्त ‘समकालिन स्रष र सिर्जना’ विशेष परिचर्चा कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

यस्तै प्रतिष्ठानले स्थापनाकालदेखि नै द्धिवार्षिकरुपमा राष्ट्रिय पुरस्कारसँगै साहित्यका विविध विद्यामा उल्लेखनीय योगदान पुराउने व्यक्तित्वहरुको पहिचान गरी, बाल साहित्य पुरस्कार, मदनचन्दा स्मृति पुरस्का र लोक कवि चेतबहादुर स्मृति पुरस्कार री ४ वटा पुरस्कार वितरण गर्ने गरेको छ ।

यस्तै साहित्य विकासमा पुस्ता हस्तान्तरणको ध्यानमा राख्दै कविता, निबन्ध, लोककथा आदि साहित्यका विद्याहरुमा सिर्जनशील प्रतियोगिताहरु राख्दै नवोदित प्रतिभाहरुको खोज्ने र साहित्यमा अभिरुची जगाउने कार्य गर्नुका साथै नेपाली भाषा साहित्यको संरक्षण एवम् संवर्धन गर्दै आइरहेको छ ।

  • २३ श्रावण २०८२, शुक्रबार ११:३६ प्रकाशित