पोखरामा मादक पदार्थ सेवन गरेर स्कुल बस हाँक्ने ६ जना चालक नियन्त्रणमा

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गरेको  चेकजाँमा आइतबार बिहान ६ जना स्‍कुल बसका चालकले मापसे मापसे गरेर  चलाइरहेको अवस्थामा फेला पारेको हो ।

पोखराको चाइनपुल नजिक गरिएको मापसे चेकजाँचमा ३ जना र ड्यामसाइडमा गरिएको चेकजाँचमा ३ जना गरेर ६ जना चालकले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक सोभा पाण्डेले जानकारी दिइन् ।

उनका अनुसार चाइना पुल नजिक ३० जना चालकको मापसे चेक गर्दा तीन जना र ड्यामसाइडमा पनि ३० जना चालकको मापसे चेकजाँच गर्दा तीन जना गरेर ६ जना चालकले मादकपदार्थ सेवन गरेर स्कुलका सवारी चलाएको पाइएको हो । मापसे सेवन गरेर चलाएका स्कुल बसलाई सम्बन्धित विद्यालयलाई नै अर्को चालकको व्यवस्था गर्न लगाएर गन्तव्यमा पठाइएको थियो ।

मादक पदार्थ सेवान गरेर स्कुल बस चलाउने चालक विरुद्ध अनुसन्धान भइरहेको र मुद्दासमेत चल्न सक्ने उनले बताइन् । कार्यालयले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई बेलाबखत कारबाही तथा सचेत गराउने गर्दै आएको उनले जानकारी दिइन्।

यसअघि पनि ट्राफिक प्रहरीले मापसे गरी स्कुल बस चलाउने विभिन्न स्कुल तथा कलेजका चालकलाई कारबाही गरेको थियो ।

  • २० श्रावण २०८२, मंगलवार ११:१३ प्रकाशित