पोखराबाट विदेशी मुद्राको अवैध कारोबार गर्ने तीन जना पक्राउ

७५ लाख ९६ हजार ९ सय रुपैयाँ बरामद

केन्द्रभाग मिडिया

पोखरा ।

अवैधरुपमा विदेशी विनिमय कारोबार गरेको आरोपमा पोखरामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही स्थायी ठेगाना भएका वर्ष ४५ का महमुददिन एम अहमद, झापा दमक स्थायी ठेगाना भई हाल पोखरा वडा नम्बर ६ बैदाम बस्ने वर्ष ४५ का राजकुमार बुढाथोकी र पोखरा महानगरपालिका वडा नम्बर १९ पुरनचौरका खेमराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीलाई हिजो शनिबार पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको हो । कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियले पत्रकार भेटघाट कार्यक्रम मार्फृत दिएको जानकारी अनुसार गण्डकी प्रदेश प्रहरी र जिल्लाको संयुक्त टोलीले महुमुद्दिमलाई सटही गरेका नोटसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट अमेरिकी डलर १९ हजार ६ सय, युरो ३२ सय र नेपाली रकम ४३ लाख ७३ हजार ७ सय रुपैयाँ बरामद भएको छ ।
महमुददिन कास्कीमा रेष्टुरेन्ट व्यवसाय सञ्चालक, राजकुमार हिलारी मनि चेन्जरका सञ्चालक र खेमराज सगरमाथा मनि चेन्जरका सञ्चालक रहेको प्रहरीले जानकारी दिएको छ ।

महुमुद्दिमले नेपाली पैसा जम्मा गर्ने र उनीहरूमार्फत डलर सटही गर्ने गरेका थिए । महुमुद्दिमबाट फेला परेको नोटका बण्डलमै बाहिर बुढाथोकी र पौडेलको नाम लेखिएको थियो । त्यहीँबाट उनीहरूसम्म पुगेर प्रहरीले अनुसन्धान गर्दा अवैध रूपमा मुद्रा सटही कारोबार गर्ने गरेको खुलेको हो ।

नेपाल राष्ट्र बैंक ऐनको दफा ९५ अनुसार विदेशी विनिमय कारोबार, त्यस्तो कार्यमा संलग्न हुन, प्रचलित कानुनबमोजिम बैंकबाट इजाजतपत्र लिनुपर्नेमा सो नलिई त्यस्तो कारोबार गरेमा कसुर गरेको ठहरिन्छ ।

यस्तो कसुर गरेमा सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ ।

‘राष्ट्र बैंक ऐनविपरीत नेपाली पैसा जम्मा गर्ने र पोखरामै मुद्रा सटही गर्ने व्यक्तिहरूको मिलेमतोमा कारोबार गर्ने गरेको खुलेको छ,’ कास्की प्रहरी प्रमुख एसपी ओलियाले भने, ‘उनले सटही गरेको डलर कहाँसम्म पुर्‍याउँछन् र कसरी खर्च गर्छन् भन्ने अनुसन्धानमै छौं ।’

औपचारिक माध्यमबाट विदेशी मुद्रा सटही गर्न पासपोर्ट, भिसा चाहिन्छ । तर अवैध रूपमा सटही गर्दा ती आवश्यक पनि नपर्ने भएकाले त्यसका निम्ति यो गिरोह सक्रिय भएको पाइएको एसपी ओलियाले जानकारी दिए ।

पक्राउ गरेका तीनै जनालाई ७ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

 

 

  • ११ श्रावण २०८२, आईतवार १६:४१ प्रकाशित